काठमाडौं । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । सोमबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट कार्य गरेसँगै एउटै सदस्यले नौ लाखभन्दा बढी रकम प्राप्त गरेको बैंकले जनाएको छ ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप बैंकमा सदस्य संघ/संस्थाहरूले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल तीन करोड ८३ लाख २० हजार दुई सय ९५ रूपैयाँ संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको हो ।
संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइँले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १६ हजार ६० वटा सहकारी संघ/संस्थाहरूको संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ नौ लाख ७५ हजार छ सय सात रूपैयाँ तथा कर्जातर्फ तीन लाख २४ हजार आठ सय चार रूपैयाँसम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाइँले बताए ।
‘उत्कृष्ट वित्तीय सेवासहितको सहकारी बैंक’ भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट ५० हजारभन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ÷संस्थाहरू बचततर्फ २६ र कर्जातर्फ एक सय चारवटा रहेका छन् । हाल बैंकमा १६ हजार तीन सय ३० सदस्य सहकारी संघ संस्थाहरू रहेका छन् ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्थापछि सहकारीहरूको केन्द्रीय निकायहरूमध्ये निरन्तर संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँट गर्ने बैंक पहिलो हो ।
बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ/संस्थाहरूलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा समेत राष्ट्रिय सहकारी बैंकमा उच्च कारोबार गरी संरक्षित पुँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।