काठमाडौं । नेपाल टेलिकमले साउन १ गतेदेखि लागू हुनेगरी मनसुन अफर २०८१ उपलब्ध गराउने भएको छ । सो अफरअन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको हो ।
कम्पनीका अनुसार प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १९९ रुपैयाँदेखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन् । यसअन्तर्गत १९९ रुपैयाँमा दुई सय मिनेट अल–नेट भ्वाइस र दुई जीबी डाटासहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोहीअन्तर्गत कम्पनीले २९९ रुपैयाँमा तीन सय मिनेट अल–नेट भ्वाइस, चार जीबी डाटा र २० अन–नेट एसएमएससहितको कम्बो २९९ प्याक र चार सय ९९ रुपैयाँमा पाँच सय मिनेट अल–नेट भ्वाइस, आठ जीबी डाटा र एक सय अल–नेट एसएमएससहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ ।
प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याकअन्तर्गत छ सय ९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र दुई सय अल–नेट एसएमएससहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने भएको छ, यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ ।
डाटा प्याकअन्तर्गत एक दिनदेखि २८ दिनसम्म समयावधि रहेका २९ रुपैयाँदेखि नौ सय ९९ रुपैयाँसम्मका एक जीबीदेखि एक सय जीबीसम्म रिसोर्ससहितका विभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । पोस्टपेडमा भने तीन सय ७३ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिकरुपमा तिर्नुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुनेछ ।
कम्पनीले अन–नेट अर्थात् कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरु पनि ल्याएको छ । साथै ४९ रुपैयाँमा एक दिनका लागि एक एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस एवं पाँच एमबीपीएससम्मको अनलिमिटेड डाटासहितको अनलिमिटेड नाइट कम्बो प्याक ल्याएको छ । यस्तै एक सय ९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुविधासहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ ।