काठमाडौं । शेयर बजारमा राजनीतिक रंग देखिएको छ । बिगतमा लगातार ओरालो लाग्दै आएको शेयर बजारले एमालेको नेतृत्वमा सरकार गठन भएको र अर्थमन्त्रीमा बिष्णु पौडेलले जिम्मेवारी सम्हालेसगै राजनीतिक रंग लिएको हो । अघिल्लो दिन १७ दशमलव १८ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार ७० दशमलव १८ अंकले उकालो लागेर २३ सय १० दशमलव ५९ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ३३ अंकले उकालो लागेर चार सय नौं दशमलव ५१ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको एक लाख १९ हजार ११ पटकको कारोबारमा दुई करोड ५८ लाख ३६ हजार दुई सय ८५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम नौं अर्ब १३ करोड ८६ लाख २९ हजार छ सय ४२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुके शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।