काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको नवौं संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) खुला भएको छ । लिभिङ विथ आईसीटीले मंगलबारदेखि नोमिनेसन खुला गरेको हो ।
‘आईसीटी अवार्ड’मा यस वर्ष थप एक विधासहित १४ विधाहरूमा नोमिनेसन खुला गरिएको आयोजकले जनाएको छ । ‘सोसियल इनोभेसन आईसीटी अवार्ड २०२४’ यस वर्ष थप गरिएको विधा हो । प्रविधि क्षेत्रका स्टार्टअप, इनोभेसन, प्रोडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल सेवाहरू र डिजिटल शिक्षालाई यस अवार्डले समेटेको छ । योगदानको आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई फरक–फरक अवार्ड विधाअन्तर्गत नोमिनेसन र छनौट गरिनेछ । गत दुई वर्षदेखि दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड पनि आईसीटी अवार्डभित्र समावेश भएको छ ।
आयोजकका अनुसार दर्जनौँ प्रि–इभेन्ट र छनौट प्रक्रियाका ३० बढी मिटिङ र विभिन्न वैज्ञानिक प्रक्रियाहरू अपनाएर आईसीटी अवार्डका विजेताहरूको छनौट गरिनेछ । १५ बढी जुरी सदस्य र १० बढी जुरी सल्लाहकार रहने यस अवार्डको तयारीका लागि आयोजकले छ महिनाको समय व्यतित गर्दै आइरहेको संस्थाका अध्यक्ष राजन लम्सालले बताए । सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारितरूपमा आयोजना हुँदै आइरहेको छ । गत वर्षदेखि आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने गरी ‘प्रोभिन्सियल आईसीटी स्टार्टअप रिकग्निसन’ सुरु गरेको थियो । यस वर्ष पनि सातै प्रदेशका स्टार्टअप र इन्नोभेसनलाई समेट्ने गरी स्टार्टअप फेस्ट आयोजना र प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिने छ ।
अवार्डमा क्याटेगोरी ‘ए’अन्तर्गत स्टार्टअप, इन्नोभेसन र प्रडक्टहरूलाई समावेश गरिएको छ । यसअन्तर्गत स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड र सोसियल इन्नोभेसन आईसीटी अवार्ड विधाहरू रहेका छन् । यी विधाहरूमा स्वयम् प्रतिस्पर्धी आफँैले आवेदन दर्ता गर्नुपर्नेछ । क्याटेगोरी ‘बी’अन्तर्गत आईसीटीमार्फत समाज र राष्ट्रको लागि पु¥याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधाअन्तर्गत प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड, पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर्स आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र नेपाली डायस्पोरा आईसीटी अवार्ड विधाहरू रहेका छन् । यी विधाहरूमा स्वयम् आफैँ वा अरू कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने छ ।
यसैगरी क्याटेगोरी ‘सी’ अन्तर्गत सरकारी र निजी संस्थाहरूको डिजिटलरूपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरूलाई हेरेर नोमिनेसन छनौट गरिने छ । यसअन्तर्गत डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड(प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड विधाहरू रहेका छन् । अन्तर्राष्ट्रिय अवार्डको रूपमा साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड पनि सञ्चालन भइरहेको छ । गत दुई वर्षदेखि सञ्चालन भइरहेको यस अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका स्टार्टअपहरूले आवदेन दिन सक्ने छन् । यसको छनौटको लागि अन्तर्राष्ट्रियस्तरको जुरी समिति बनाइएको छ । अवार्डको आधिकारिक वेबसाइटबाट अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति भदौ १५ गतेसम्म रहेको छ ।