काठमाडौं । जुपिटर मिडियाले बेलायतको शैक्षिक गन्तव्यलाई केन्द्रमा राख्दै डेस्टिनेसन युके टेलिभिजन कार्यक्रम सञ्चालन गरेको छ ।
बेलायतका विभिन्न सहरहरूको भ्रमण गरेर त्यहाँ रहेका शैक्षिक संस्थाहरूको वास्तविकता, नेपाली विद्यार्थीहरूको अवस्था तथा उनीहरूका विभिन्न गुनासा तथा समस्याहरूका उठान गर्दै स्थलगत अध्ययनसहितको यथार्थता प्रस्तुत गर्ने उद्देश्यका साथ सो कार्यक्रमको सुरुवात गरिएको हो । काठमाडौं बानेश्वरमा रहेको होटल एभरेस्टमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रमको प्रायोजकका रूपमा युनिभर्सिटी अफ वोल्भरह्याप्टन, युनिभसिर्टी कलेज बर्मिंग्हाम, सोलेन्ट युनिभसिर्टी, युनिभसिर्टी अफ हर्टफोर्डसायर, युनिभसिर्टी अफ बेडफोर्डचेयर, युनिभसिर्टी अफ वोस्टर, युनिभसिर्टी अफ सेन्टर ल्यानक्यासार रहेका थिए ।
कार्यक्रममा जुपिटर मिडियाका अध्यक्ष राजु आचार्यले स्थापना कालदेखि नै जुपिटर मिडियाले नेपाली शैक्षिक क्षेत्रको दिगो विकासमा केन्द्रित रहेर कार्य गरिरहेको बताए । त्यस्तै, एसोसिएसन अफ ब्रिटिस एलुम्नाइ इन नेपाल (एबीएएन) का पूर्वअध्यक्ष उत्तम पन्तले जुपिटर मिडियाले नेपाली शैक्षिक क्षेत्रमा पुर्याएको योगदानहरूको चर्चा गर्दै डेस्टिनेसन युके प्रोग्राममार्फत नेपाली विद्यार्थी तथा अभिभावकहरूले बेलायत अध्ययनको बारेमा सही जानकारी पाउन मद्दत गर्ने बताए । कार्यक्रममा ब्रिटिस काउन्सिलका हेड अफ अपरेसन सुबिन बज्राचार्यले ब्रिटिस शैक्षिक प्रणालीको पृष्ठभूमि, उपयोगिता, महत्व, चुनौतीहरू र सहभागितालाई समेटेर आफ्नो धारणा राखेका थिए ।
डेस्टिनेसन युके कार्यक्रमले नेपाली विद्यार्थी अभिभावकहरूलाई युके अध्ययनका विभिन्न पक्षहरू तथा अध्ययनपश्चात्का विभिन्न अवसरहरूलाई प्रस्तुत गर्न सक्ने उनले बताए ।