वासिङटन डिसी । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले सन् २०२४मा विश्वको आर्थिक वृद्धि तीन दशमलव दुई प्रतिशत पुग्ने पूर्वानुमान गरेको छ । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा मुद्रास्फीति जोखिम र व्यापार तनावको स्थिति रहनसक्ने चेतवनी दिँदै विश्वको आर्थिक वृद्धि स्थिर राखेको हो ।
आईएमएफले वल्र्ड इकोनोमिक आउटलुक अपडेट सार्वजनिक गर्दै गत अप्रिलमा प्रक्षेपण गरेको आर्थिक वृद्धि अनुमानलाई नै निरन्तरता दिएको छ ।
विश्वव्यापी गतिविधि र विश्व व्यापार वर्षको सुरुतिर बलियो भएको र एसियाबाट प्रविधि क्षेत्रमा भएको बलियो निर्यातले व्यापारलाई प्रोत्साहित गरेको आईएमएफले उल्लेख गरेको छ । कोषले सन् २०२५ का लागि तीन दशमलव तीन प्रतिशतको विश्वव्यापी वृद्धिको अपेक्षा गरेको छ ।
आईएमएफले विश्वका धेरै मुलुकको आर्थिक वृद्धि राम्रो भइरहेको देखिएकोे भए पनि जापान र अमेरिकामा आश्चर्यजनक देखिएको उल्लेख गरेको छ । वासिङ्टन–आधारित आईएमएफले मुद्रास्फीतिको माथिल्लो जोखिम बढेको र सेवाहरूको मूल्यले अपस्फीति रोकिएको भन्दै सचेत गराएको छ । यसबाट बढ्दो व्यापार तनाव र बढ्दो नीतिगत अनिश्चितताका सन्दर्भमा ब्याजदरहरू लामो समयसम्म उच्च रहने सम्भावनालाई बढाएको छ ।
आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले चिन्ताको क्षेत्र भनेको व्यापार र औद्योगिक नीति रहेको भन्दै देशहरूले सम्भावितरूपमा विश्वव्यापी अर्थतन्त्रको एकीकरणलाई असर गर्ने उपायहरू अपनाइरहेको बताए ।
नोभेम्बरको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार एवं अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासपछि जोखिम मूल्याङ्कन परिवर्तन भएको छ कि भन्ने प्रश्नमा गौरिन्चसले कोषले यसको प्रभावलाई विचार गर्ने उल्लेख गरेका छन् ।
विश्व विकास स्थिर प्रतीत भएका बेला आईएमएफले अमेरिका र जापानका लागि अनुमानलाई कम गरेको छ । कोषले भनेको छ, ‘वर्षको अपेक्षाबाट सुस्त सुरुआतका कारण सन् २०२४ मा अमेरिका विकासदरलाई घटाएर दुई दशमलव छ प्रतिशत बनाइएको छ, यो अप्रिलको पूर्वानुमानभन्दा शून्य दशमलव एक प्रतिशत अङ्क कम हो ।
जापानको अर्थतन्त्रमा यस वर्ष अपेक्षाभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्क कम अर्थात् शून्य दशमलव सात प्रतिशतले आर्थिक वृद्धि भएको देखिएको छ । यसको मुख्य कारण अस्थायी आपूर्तिमा अवरोध र पहिलो त्रैमासिकमा कमजोर निजी लगानी थियो । यसैबीच युरो क्षेत्रमा अपेक्षाकृत मजबुत सेवा गतिविधिका साथ सुधारको सङ्केत देखिए पनि निर्माण क्षेत्रमा कमजोरी देखिएको गौरिन्चसले बताए ।
चीन र भारतले एसियामा गतिविधि बढ्ने अपेक्षा गरिएको छ । चीनको सन् २०२४ प्रक्षेपणमा निजी खपतमा उछाल र बलियो निर्यातमा पाँच प्रतिशतसम्म परिमार्जन गरिएको छ । यसैबीच भारत उपभोगका लागि राम्रो सम्भावनाहरूमा आंशिकरूपमा सात प्रतिशत वृद्धि गर्न सक्नेछ ।
घरेलु माग कमजोर भएको अवस्थामा चीन बाह्य क्षेत्रमा बढी भर पर्नेछ । यो अवस्था हो जसका विरुद्ध संयुक्त राज्य अमेरिकाजस्ता देशहरूले पछि हटिरहेका छन् । आईएमएफले नयाँ शिराबाट व्यापार वा भू–राजनीतिक तनावका बीच टाँसिने मुद्रास्फीतिको जोखिम पनि रहने चेतावनी दिएको छ । यद्यपि यसले मुद्रास्फीति सन् २०२५ को अन्त्यसम्ममा लक्ष्यमा फर्किने अपेक्षा गरेको छ ।
आईएमएफले व्यापार तनाव बढ्दा आयातित वस्तुहरूको लागत बढेर निकट अवधिमा मुद्रास्फीतिको जोखिम पनि बढ्नसक्ने बताएको छ । कोषले सावधानीपूर्वक मौद्रिक नीति समायोजन गर्न आग्रह गरेको छ ।