नेपाल राष्ट्र बैंकले झण्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा नियमविपरीत काम गरेका बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका हुन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक र सिटिजन्स बैंक इन्टरनेसनल कारबाहीमा परेका छन् । दोस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, रिलायन्स फाइनान्स, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र हिमालयन बैंक कारबाहीमा परेका हुन् । तेस्रो त्रैमासमा राष्ट्र बैंकले लुम्बिनी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज बैंकलाई कारबाही गरेको हो । यीबाहेक कारबाहीमा पर्नेहरुमा क्षेत्रीयस्तरका पाँचवटा विकास बैंक र राष्ट्रियस्तरका तीनवटा फाइनान्स कम्पनीहरु पनि छन् ।
केन्द्रीय बैंकले तोकिएको न्युनतम पुँजी कोष कायम नगरेपछि क्षेत्रीयस्तरको सिन्धु विकास बैंक र सो बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले पदीय आचरणविपरीत कार्य गरेपछि विभागीय कारबाही गरेको छ । श्रेष्ठलाई पाँच लाख रुपैयाँसहित नगद जरिबाना समेत तिराएको केन्द्रीय बैंकले जनाएको छ । सिन्धु विकास बैंकको पुँजीकोष अनुपात ३२ दशमलव शून्य नौ प्रतिशत अपुग भएपछि केन्द्रीय बैंकले कारबाही गरेको हो । यस्तै, क्षेत्रीयस्तरको कर्णाली विकास बैंकले अनिवार्य नगद मौज्दात सीमा कायम नराखेपछि दुई हजार पाँच सय ४६ रुपैयाँ नगद जरिबाना तिरेको छ ।
नारायणी डेभलपमेन्ट बैंकलाई भने यसअघि गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई नै निरन्तरता दिइएको छ । तोकिएको समयभित्र वित्तीय विवरण नबुझाएको क्षेत्रीयस्तरको कर्पोरेट डेभलपमेन्ट बैंकलाई विभागीय कारबाहीस्वरुप सचेत गरिएको केन्द्रीय बैंकले जनाएको छ । क्षेत्रीयस्तरकै एक्सेल डेभलपमेन्ट बैंकलाई पनि तोकिएको समयमा लेखापरीक्षण नगराएको तथा वासलात नबुझाएको कैफियतका आधारमा सचेत गराएको छ ।
राष्ट्र बैंकका अनुसार बेस्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र रिलायन्स फाइनान्सले तोकिएको न्यूनतम मौज्दात कायम नगरेको सहितका केही कैफियत भेटिएपछि सचेत गराइएको हो । क्षेत्रीयस्तरको सिन्धु विकास बैंकमा राजेन्द्रकुमार श्रेष्ठ निकै लामो समय अध्यक्ष थिए । उनी गत असार १३ गते मात्रै यस बैंकबाट बाहिरिएका थिए । बैंकले असार १४ गते धितोपत्र बोर्डलगायत अन्य निकायलाई दिएकोे जानकारीपत्रमा भनिएको छ, ‘यस सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालीन अध्यक्ष श्री राजेन्द्रकुमार श्रेष्ठ यस विकास बैंकको अध्यक्ष÷सञ्चालक पदमा बहाल नरहनुभएकोले यस बैंकको मिति २०८१ असार १३ गते सम्पन्न सञ्चालक समितिको ४३२औँ बैठकको निणर्यद्वारा श्रीमती निभा डङ्गोल श्रेष्ठलाई बैंकको सञ्चालक समिति अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको जानकारीको लागि अनुरोध गर्दछु ।’ बैंकले सार्वजनिक गरेको यो पत्रको बेहोरामा तत्कालीन अध्यक्ष श्रेष्ठले राजीनामा दिएको कुनै कुरा उल्लेख छैन । पत्रमा खालि तत्कालीन अध्यक्ष श्रेष्ठ अध्यक्ष पदमा बहाल नरहेको र उक्त दिन बसेको सञ्चालक समितिको ४३२औँ बैठकले निभा डंगोल श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मतरूपमा चयन गरेको कुरा मात्र उल्लेख गरिएको छ ।
संस्थापनकालदेखि नै जालझेल गरेर सधैँजसो बैंक सञ्चालक समितिको अध्यक्ष पदमा रहेका श्रेष्ठको कार्याकालमा बैंकभित्र भएको चरम बेथिति, अनियमितता र त्यसलाई लिएर राष्ट्र बैंकले अध्यक्षपदबाट हट्न मौखिकरूपमा निर्देशन दिएको थियो । त्यही निर्देशन नै उनी हट्नुको प्रमुख कारण भएको सिन्धु विकास बैंक निकट स्रोतले बताएको छ । यसबाहेक पछिल्लो समय उनको धेरैवटा बैंकसँग कारोबार बिग्रिएको छ । यदि त्यस्तो हुँदैन थियो भने बैंकबाट सजिलै हट्ने व्यक्ति अध्यक्ष श्रेष्ठ नभएको स्रोतले भनेको छ । तत्कालीन अध्यक्ष श्रेष्ठले आफू अध्यक्षपदबाट हटेपछि निभा डंगोल श्रेष्ठलाई सर्वसम्मतरूपमा अध्यक्ष बनाइएको छ । स्रोतका अनुसार अध्यक्ष निभा तत्कालीन अध्यक्ष श्रेष्ठकै नातेदार अर्थात् साली हुन् ।