काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिने तय भएको सत्तारुढ दल एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । संविधानको धारा ७६ (४) बमोजिम उनले विश्वासको मत लिन लागेका छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।