काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–५ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सबस्टेसन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो । गत असार पहिलो साता नै सञ्चालनमा ल्याउने गरी आयोजना कार्यालयले काम गरेको थियो ।
पाँच वर्ष अगाडि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेसन हालसम्म ९२ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो । गत असार ९ गते सर्वोच्चले रिट नै खारेज गरिदिएपछि पुनः काम सुरु गर्ने आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए । कपिलवस्तुको मोतिपुरदेखि सुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेसन विसं २०७८ सालदेखि निर्माण सुरु भएको थियो ।
ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सबस्टेसनको निर्माण भएको छ । विसं २०७६ मा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुईपछि मात्रै काम सुरु भएको थियो । मोतिपुरदेखि सन्धिखर्कसम्मको लाइन विसं २०७८ चैत १२ गते परीक्षण गरी सुचारु गरिएको भन्दै गुल्मीको तम्घासको सबस्टेसन असार ७ गतेदेखि सञ्चालनमा आएको प्रमुख चौधरीले जानकारी दिए । सर्वोच्चले रिट खारेजपछि अब काम तीव्र गतिमा हुने उनको भनाइ छ ।