फिलिपिन्स । एसियाली विकास बैंक (एडीबी)ले भारतमा रूफटप सोलर सिस्टमको वित्तपोषण गर्न दुई सय ४० दशमलव पाँच मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड)लाई वित्तपोषण उपलब्ध हुनेछ ।
एडीबीले आफ्नो क्लिन टेक्नोलोजी कोषबाट एसबीआईलाई ९० दशमलव पाँच मिलियन डलर प्रदान गर्ने बताएको छ । क्लिन टेक्नोलोजी कोषबाट यसको तुलनामा, नाबार्डले एक सय ५० मिलियन डलर प्राप्त गर्नेछ, जसमा एडीबीको साधारण पुँजी स्रोतबाट ८० मिलियन डलर र सिटिएफबाट ७० मिलियन डलर समावेश छ ।
छतमा सौर्य प्रणाली स्थापना गर्दा प्राविधिक र परिचालन बोझ कम गरेर समग्र विद्युत् वितरण प्रणालीलाई फाइदा पुग्ने एडीबीले जनाएको छ । रासस/सिन्ह्वा