सेयरबजार दिनदिनै बढ्न थालेपछि लगानीकर्ताको चहलपहल बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा उच्च वृद्धि त भयो नै कारोबार रकम पनि १५ अर्ब ५४ करोड रुपैयाँ नाघ्यो । लगानीकर्ताको कन्फिडेन्स बढ्दै गएपछि सेयर खरिद चाप पनि निरन्तर बढिरहेको छ ।नेप्से परिसूचक बिहीबार ५९ दशमलव ६८ अङ्कले बढेर दुई हजार चार सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ । कारोबार भएका दुई सय ४३ कम्पनीमध्ये एक सय ४४ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । तर, ९५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने चार कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
लगानीकर्ताको सम्पत्ति बिहीबार मात्रै ९५ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ३८ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
यस दिन फाइनान्स र जलविद्युत्बाहेक सबै समूह बढेका छन् । लगानीकर्ता बैंकिङ समूहको सेयर किन्न झुम्मिएका छन् । बिहीबार बैंकिङ समूह सबैभन्दा धेरै छ दशमलव २८ प्रतिशत बढेको छ । बैंकिङ पचि लघुवित्त दुई दशमलव ७७ प्रतिशत, अन्य दुई दशमलव ३० प्रतिशत, विकास बैंक एक दशमलव ३१, जीवन बीमा एक दशमलव २९, उत्पादन तथा प्रशोधन एक दशमलव १७, निर्जीवन बीमा एक दशमलव शून्य पाँच, होटल तथा पर्यटन एक दशमलव शून्य चार, लगानी शून्य दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ८९ र व्यापार शून्य दशमलव ४६ प्रतिशत बढेको छ । फाइनानस एक दशमलव २७ प्रतिशत घटेको छ । जलविद्युत् समूह पनि सामान्य घटेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।यस्तै, कुमारी सबल योजना पाँच दशमलव ७६, सिन्धु विकास बैंक चार दशमलव ५७, गुहेश्वरी मर्चेन्ट चार दशमलव २२, एनसीसी डिबेन्चर तीन दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले तीन दशमलव नौ प्रतिशतले गुमाएका छन् । नेपाल फाइनान्सको सेयरकारोबार सबैभन्दा धेरै ४२ करोड ४६ लाख रुपैयाँबराबरको भएको छ । अपर तामाकोसीको सेयर कारोबार पनि ३८ कारेड ९१ लाख रुपैयाँभन्दा बढीको भएको छ ।