काठमाडौं । डोल्पामा १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने भएको छ । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा ६७ औँ १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेला आयोजना गर्न लागिएको हो ।
मेलाका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरणमा पुगेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए । सो मेला भदौ १६ गते देखि २१ गतेसम्म छ दिन शेल सुम्दो गुम्बामा आयोजना गरिने छ । यक्त मेलामा धार्मिक प्रवचनदेखि सांस्कृतिक कार्यक्रम, घोडा दौडलगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने विभिन्न गतिविधि सञ्चालन हुने जनाइएको छ । मेलाको अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानसँग सहकार्यमा निःशुल्क आँखा उपचार तथा शल्यक्रियादेखि स्वास्थ्योपचारलगायतका शिविर समेत राखिने अध्यक्ष गुरुङले बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहे पनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपूर्ण गन्तव्य भएको बताए । उनले भने, ‘साहसिक पर्यटनको लागि डोल्पा हिडनल्यान्ड हो ।’ अध्यक्ष गुरुङले शेल रिवो डुग्ड्रा मेलाले डोल्पाको बहुसांस्कृतिक पक्षलाई थप उजागर गर्ने विश्वास लिएको बताउँदै बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिकरूपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरूले विविध अनुभूति हासिल गर्न सक्ने उल्लेख गरे । खस तथा मस्टो संस्कृति, तराली संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषालगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदिबाट अलौकिक अनुभूति लिन सकिने आयोजकले जनाएको छ । ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करिब १५ हजारभन्दा बढी मानिसहरूको उपस्थिति हुने आयोजकको अपेक्षा छ ।
६७ औँ १२ वर्षे शेल रिवो डुग्डु (शे) मेला २०८१ मूल आयोजक समिति र शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका तथा छार्काताङसोङ गाउँपालिकाले सहआयोजकका रुपमा यो मेलाको आयोजना गर्न लागेका हुन । प्रचार प्रसार समितिका संयोजक तथा शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले ऐतिहासिक यो मेलालाई सफल बनाउन र यसको प्रचार प्रसार गर्न राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरिएको बताए । यसले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान मिल्ने उनले बताए । उनले भने, ‘यो केवल मेला मात्रै नभई विश्वसामु हाम्रो भूगोल, सांस्कृतिक, कला, ऐतिहासिक मूल्यमान्यताका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सुन्दरतालाई भरपुर प्रयोगमा ल्याई डोल्पाको भविष्यसँग जोडिएको एउटा महत्वपूर्ण क्षण पनि हो । त्यसैले यसलाई सफल बनाउन सबैको साथ र सहकार्यको खाँचो छ ।’
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिम्मत सिंह ऐरले पर्यटन विकासका हिसावले निकै महत्वपूर्ण मानिएको डोल्पामा हुन गइरहेको यो मेला धार्मिक महत्वका हिसाबले मात्रै नभएर सांस्कृतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले भने, ‘यस्ता मेलाको प्रचारप्रसार गर्न सके यसले पर्यटन विकासमा कोशेढुंगाको काम गर्न सक्छ ।’