भजनी । राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईको गत आर्थिक वर्षको वित्तीय प्रगति ५० प्रतिशतभन्दा कम देखिएको छ । कृषि कार्यक्रम कार्यान्वयन इकाईले विनियोजन बजेटको ४७ दशमलव ७९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।
गत वर्ष आयोजनाका लागि चालू तथा पुँजीगत गरी १४ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । चालूतर्फ १४ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा सात करोड ८२ हजार नौ सय १० रुपैयाँ अर्थात् ४७ दशमलव ७२ प्रतिशत खर्च भएको कार्यान्वयन इकाईका सूचना अधिकारी आकृति ठाकुरले जानकारी दिइन् । पुँजीगततर्फ दुई लाख बजेट विनियोजन भएकामा ९९ दशमलव ४४ प्रतिशत प्रगति भएको उनले बताइन् । ‘कार्यान्वयन इकाइमा ठूलो बजेट शीतभण्डार निर्माणका लागि रहेको थियो । उक्त आयोजनाको काम सम्पन्न नहुँदा वित्तीय प्रगति कम देखियो,’ उनले भनिन्, ‘अन्य अधिकांश कार्यक्रम सम्पन्न हुँदा पनि आधा रकम शीतभण्डारको फिर्ता हुँदा खर्च प्रगति कम भयो ।’
गत वर्ष शीतभण्डार निर्माणका लागि छ करोड ६० लाख बजेट कार्यान्वयन इकाईले विनियोजन गरेको थियो । शीतभण्डारको काम सुरु भए पनि भौतिक प्रगतिका आधारमा ७५ लाख मात्रै भुक्तानी भएको देखिएको छ । आयोजनाको मुख्य कार्यक्रमअन्तर्गत शीतभण्डार प्राथमिकतामा पर्दै आएको छ । शीतभण्डारको काम गत वर्षदेखि सुरु भए पनि प्राविधिक समस्याका कारण निर्माणको कामले गति लिन नसकेको आयोजना प्रमुख भरत कँडेलले बताए । ‘जग्गाको काम सम्पन्न भएपछि विश्व बैंकको प्राविधिक टोलीले अनुगमन गरेको आयोजनामा केही त्रुटि भएपछि त्यसभन्दा अगाडिको काम हुन सकेन,’ उनले भने, ‘अहिले त्यो त्रुटि समाधान भएको छ । अब शीतभण्डारको काम निरन्तर हुन्छ ।’ पाँच तलाको निर्माण हुन लागेको शीतभण्डारको भवन प्राविधिक समस्या देखिएपछि चार तलाको बन्ने भएको छ । शीतभण्डार निर्माणका लागि सात करोड छ लाखमा सम्झौता भएको छ । कार्यक्रम कार्यान्वयन इकाइले चालू आर्थिक वर्षका लागि आयोजनाले १३ करोड ६६ लाख रुपैयाँ बजेट पाएको छ । तीमध्ये पाँच करोड २५ लाख शीतभण्डारमा खर्च हुने आयोजना प्रमुख कँडेलले बताए ।