बेङ्लोर । भारतीय आईटी (सूचना प्रविधि) कम्पनी इन्फोसिसले जुनमा समाप्त हुने त्रैमासिकमा शुद्ध मुनाफामा सात दशमलव एक प्रतिशतको वार्षिक वृद्धि हासिल गरेको छ । यसले ग्राहक खर्चमा क्रमिक पुनरुत्थानको सङ्केत गरेको छ ।
भारतको दोस्रो सबैभन्दा ठूलो सफ्टवेयर सेवा निर्यातक इन्फोसिसले आफ्नो राजस्वको ८० प्रतिशतभन्दा बढी पश्चिमी बजारहरूबाट कमाउँछ । विशेषज्ञ अनुमानहरूलाई पछि पार्दै कम्पनीले यस त्रैमासिकमा ७६ करोड १३ लाख डलरको शुद्ध मुनाफा कमाएको छ । वार्षिक राजस्व तीन दशमलव छ प्रतिशतले बढेर चार अर्ब ७० करोड डलर पुगेको छ ।
इन्फोसिसले चालू आर्थिक वर्षका लागि स्थिर–मुद्रा राजस्व निर्देशनलाई तीनदेखि चार प्रतिशतसम्म बढाएको छ । यो यसअघिको एकदेखि तीन प्रतिशतको पूर्वानुमानभन्दा बढी हो ।
‘सबै भूगोल र अधिकांश उद्योग समूह क्रमिकरूपमा बढेका छन्’, कम्पनीका प्रमुख कार्यकारी सलिल पारेखले पत्रकारहरूसँग भने, ‘धेरै त्रैमासिकपछि भोल्युम वृद्धि सकारात्मक भएको छ, हामीसँग ठूला सम्झौता जितहरूको अर्को बलियो त्रैमासिक थियो, यसमा चार अर्ब १० करोड डलरको कुल अनुबन्ध मूल्यमा ३४ वठा ठूला सम्झौता थिए ।’
उनले इन्फोसिसले संयुक्त राज्य अमरिकामा आफ्नो वित्तीय सेवा शाखाका लागि ‘सुधारको सुरआती संकेत’ देखिरहेको बताए ।
महामारीका कारण मागमा भएको उछाल देखेलगत्तै मुद्रास्फीति र विश्वव्यापी अनिश्चितताले पश्चिमी ग्राहकहरूले प्रविधि खर्चमा कटौती गर्नुपरेपछि भारतको दुई खर्ब ५४ अर्ब डलरको आइटी क्षेत्रको हिस्सा इन्फोसिसले दु्रत वृद्धिमा मन्दीको सामना गर्नुप-यो ।
मन्दीले आईटी क्षेत्रमा निर्भर हजारौँ भारतीय युवा इन्जिनियर स्नातकहरूको नोकरीको सम्भावनालाई कमजोर बनायो । तीन लाखभन्दा धेरै कर्मचारी भएको इन्फोसिसले गत वर्ष ग्राहकहरूको माग घटेका कारण क्याम्पस हायरिङलाई अस्थायीरूपमा रोकेको थियो ।
मार्च ३१ सम्मको १२ महिनामा कम्पनीको कुल कर्मचारीको संख्यामा करिब २६ हजारले घटेको छ । ग्राहकको माग बढ्नेबारे आफ्नो उत्साहित आकलनका बाबजुद कम्पनीले जुनमा समाप्त हुने त्रैमासिकमा करिब दुई हजार कर्मचारी कटौती गरेको छ ।
आम्दानीको घोषणाअघि बिहीबार मुम्बईमा कारोबारको अन्त्यमा इन्फोसिसको सेयर एक दशमलव ८५ प्रतिशतले बढेर बन्द भएको छ । रासस/एएफपी