क्यानबेरा । अष्ट्रेलियामा बेरोजगारी दर बढेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुन महिनामा बेरोजगारी दर चार दशमलव एक प्रतिशत पुगेको छ । जुन मे महिनाको तुलनामा शून्य दशमलव १ प्रतिशत बढी हो । मे महिनामा अस्ट्रेलियाको बेरोजगारी दर चार प्रतिशत थियो ।
तथ्याङ्कअनुसार जुन महिनामा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार दुई सयले बढेको छ । यो अवधिमा बेराजगार संख्या पनि नौ हजार सात सयले बढेको एबीएसले उल्लेख गरेको छ ।
सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ, जो कार्यरत वा सक्रियरूपमा काम खोज्दै छन् । जसको सङ्ख्या मे महिनामा ६६ दशमलव आठ प्रतिशतबाट बढेर जुनमा ६६ दशमलव नौ प्रतिशत पुगेको छ ।
जुनमा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७ प्रतिशतको ऐतिहासिक उच्चभन्दा शून्य दशमलव एक प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार दुई सय बेरोजगार व्यक्ति जुन महिनामा सक्रियरूपमा काम खोज्दै गरेको जार्विसले जनाए । यसैगरी बेरोजगार सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढे पनि कोभीड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उहाँले उल्लेख गर्नुभयो ।
बेरोजगारी दर गतवर्ष जुन महिनाको तुलनामा शून्य दशमलव पाँच प्रतिशत बढी र सन् २०२० मार्चको तुलनामा एक दशमलव एक प्रतिशतले कम रहेको छ ।
एबीएसको तथ्याङ्कअनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे–जुन महिनाको बीचमा शून्य दशमलव आठ प्रतिशतले बढेको छ ।
बिरामी भएकाले चार दशमलव पाँच प्रतिशत अष्ट्रेलियालीले जुन माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।