काठमाडौं, असार ९
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जरिवाना शुल्क छुट गरेको छ । कम्पनीले बीमालेखको प्रिमियम तिर्न ढिला भएमा लाग्ने जरिवाना शुल्क छुुट गरेको हो । कम्पनीका अनुसार यही असार २१ गतेसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भएबापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिइने भएको छ । कोरोना भाइरस रोकथामका निमित्त लागू भएको लकडाउनको कारण नेपालीमा सृजना भएको अप्ठयारो परिस्थितिलाई ध्यानमा राख्दै उक्त छुुट दिन लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीबाट जारी भएका बीमालेखमध्ये २०७७ साल आषाढ छ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका सबै बीमालेखहरू २०७७ साल असार २१ गतेसम्म पुनर्जागरण गराई नवीकरण बीमाशुल्क भुक्तानी गरेमा सोमा लाग्ने विलम्ब शुल्क पूर्णरूपमा छुट दिने जानकारी कम्पनीले दिएको छ । यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आआफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले आफूसँग आबद्ध सबै बीमितहरूलाई आग्रह समेत गरेको छ ।
देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मदत मिल्ने हुँदा यस विषम परिस्थितिमा ग्राहकलाई विलम्ब शुल्कमा पूरै छुटको सुविधा दिइएको कम्पनीले जानकारी दिएको छ । हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ३९ लाख २३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड १४ लाख ३४ हजार रूपैयाँ रहेको थियो ।