काठमाडौं, असार ९
गुराँस लघुुवित्त वित्तीय संस्थाले ९३ करोड ८५ लाख २० हजार रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेभएको छ । कम्पनीले यही असार १४ गतेबाट हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एकबराबर एकको अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहनेगरी ९३ लाख ८५ हजार दुई सय रूपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य साउन १४ गतेसम्म कायम रहनेछ । कम्पनीले यसअघि चैत २० गतेबाट हकप्रद सेयरको बिक्री खुला गर्ने घोषणा गरेको थियो । तर विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले चैत ११ गतेदेखि नै लकडाउन घोषणा गरेपछि कम्पनीको हकप्रद सेयरको बिक्री प्रक्रिया अवरुद्ध भएको थियो । तर अहिले भने सरकारले यही असार गतेबाट लकडाउनलाई केही खुुकुुलो पारेसँगै कम्पनीले हकप्रद सेयरको बिक्री कार्य पुुनः सुरु गरेको हो ।
कम्पनीको हाल चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रूपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख ४० हजार रूपैयाँ पुग्नेछ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड ३७ लाख ६० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा पाँच करोड ६५ लाख ८९ हजार रूपैयाँ रहेको थियो ।