काठमाडौं, असार ९
एनएलजी इन्स्योरेन्स कम्पनीले ३८ करोड ४२ लाख ४३ हजार सात सय ५० रूपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले असार नौ गते अर्थात् आजबाट प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्य कायम रहनेगरी हाल कायम रहेको चुक्ता पुँजी मध्येबाट १० बराबर छ को अनुपातमा एक सय रूपैयाँ अंंकित मूल्य कायम रहनेगरी ३८ लाख ४२ हजार चार सय ३७ दशमलव ५० कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक लक्ष्मी क्यापिटल रहेको कम्पनीको सेयर बिक्री कार्य यही असार २५ गतेसम्म कायम रहनेछ । कम्पनीले यसअघि फागुन २२ गतेबाट हकप्रद सेयरको बिक्री खुला गरेको थियो । तर हकप्रद सेयरको बिक्री कार्य कायम नै रहंदा चैत ११ गतेदेखि विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले लकडाउन घोषणा गरेपछि कम्पनीको सेयर बिक्री कार्य अवरुद्ध भएको थियो । तर अहिले भने सरकारले यही असार एक गतेबाट लकडाउनलाई केहीहदसम्म खुकुलो पारेपछि कम्पनीले पनि यसअघि रोकिएको हकप्रद सेयरको बिक्री कार्यलाई पुुनः सुरु गरेको हो ।
कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड चार लाख छ हजार रूपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब दुई करोड ४६ लाख ५० हजार रूपैयाँ पुुग्नेछ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड ७३ लाख ७४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा १५ करोड ३४ लाख २९ हजार रूपैयाँ रहेको थियो ।