काठमाडौं । एक्स–एज नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग गर्ने भएको छ । कम्पनीले पहिलो पटक नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी वुमन्स एसिया कपमा सहभागी भएको अवसरमा टोलीलाई दराज इ–कमर्स प्लेटफर्ममार्फत भएको आफ्नो कुल बिक्रीको १० प्रतिशत सहयोग गर्ने घोषणा गरेको हो ।
कम्पनीले एसीसी वुमन्स एसिया कप २०२४ को अवधिभर साउन चारदेखि १३ गतेसम्म दराज नेपालमा उपलब्ध एक्स–एजका हरेक उत्पादनहरूको बिक्रीबापतको १० प्रतिशत रकम सिधै राष्ट्रिय महिला क्रिकेट टोलीलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
साथै, यस कदमले देशका खेलाडीहरूलाई खेलकुद जगतमा प्रोत्साहन प्रदान गर्ने कम्पनीको विश्वास छ । नेपाली महिला क्रिकेट टोलीले इतिहास रच्दै राष्ट्रिय गौरव बढाएकाले उनीहरूलाई माया र समर्थन दिन प्रयास गरेको कम्पनीको भनाइ छ ।
साथै, सम्पूर्ण नेपालीलाई आ–आफ्नो तर्फबाट कुनै न कुनैरूपले नेपाली खेलाडीलाई प्रोत्साहन गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीले निरन्तररूपमा नेपाली क्रिकेटको विकास र प्रगतिका लागि विभिन्न गतिविधिहरूमा सक्रिय भई नेपाल क्रिकेट संघलाई सहयोग गर्दै आएको छ ।