नयाँदिल्ली । सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइ भएपछि यात्रुहरूलाई भाडा पूर्णरूपमा फिर्ता गर्ने एयर इण्डियाले घोषणा गरेको छ । एयर इन्डियाको पत्रमा भनिएको छ, ‘कृपया सान फ्रान्सिस्कोको यात्रामा तपाईँलाई पर्नगएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौँ । विगत २४ घण्टा कठिन थियो र यस अवधिमा धैर्यताको लागि धन्यवाद ।’
यात्रुलाई छिटोभन्दा छिटो सान फ्रान्सिस्को पुग्ने व्यवस्था गर्नु आफ्नो प्राथमिकता रहेको र यसका लागि सम्बन्धित निकायसँगको सहकार्यमा राहत उडान पठाएको पनि एयरलाइन्सले जनाएको छ ।
‘हामीले तपाईंले भोग्नुभएको अनुभवलाई मेटाउन सक्दैनौँ, हाम्रो इमानदार पश्चात्ताप व्यक्त गर्नको लागि, हामी तपाईँको यात्राको भाडा पूर्णरूपमा फिर्ता गर्नेछौँ’ पत्रमा उल्लेख छ ।
नयाँ दिल्लीबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडान प्राविधिक कारणले रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको करिब ३० घण्टापछि अमेरिकी सहरको विमानस्थलमा सुरक्षित अवतरण भएको थियो ।
नयाँ दिल्लीबाट सान फ्रान्सिस्कोको लागि सञ्चालन हुने उडानलाई जुलाई १८ मा प्राविधिक कारणले रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको थियो । एयर इन्डियाले शनिबार एल–११७९ उडान सान फ्रान्सिस्कोमा सुरक्षितरूपमा पुगेको जनाएको छ ।
एयर इन्डियाको केजेएमा कर्मचारी नभएकोले यात्रुहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन तेस्रो पक्षमार्फत सहयोग व्यवस्था गरेको थियो । रासस/एएनआई