काठमाडौं, असार ९
बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई बीमादाबी रकम भुक्तानी दिएको छ । बैंकका अनुसार बीओके सुपर तलब खातामा विभिन्न सुविधाहरूका साथ सात लाख रूपैयाँबराबरको दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको बीमा सुविधा उपलब्ध आएकोमा उक्त खाताअन्तर्गत रहेर बीमादाबी भुक्तानी दिइएको हो ।
यो खातामा रहेका थुप्रै सुविधाहरूको प्रयोगबापत लाभ लिन नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिले कर्मचारीहरूको तलब खाता बैंक अफ काठमाण्डू लिमिटेडको हेटौंडा शाखामा विगत केही समयदेखि सञ्चालन गर्दै आइरहेको छ । साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुविधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो ।
उक्त इन्जिनियरिङ कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो । निधनपश्चात् स्व. सुनारका पिता ठूलोकान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमादाबी रकम सात लाखको चेक हस्तान्तरण गरेका हुुन् । बैंकले हाल ८९ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहक महानुभावहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।