काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताएका छन् । आइतबार सिंहरदरबारस्थित मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताए ।
‘लैनचौरको जग्गा विवाद हामी सकभर छिटो समाधान गर्ने छौँ । त्यसमा हामी पर्यटकीय प्रयोग हुने गरी तालिम केन्द्र बनाउन सक्छौँ’, उनले भने । स्काउटको लालपुर्जासहितको जग्गा १२ जिल्लामा रहेको भए पनि सही उपयोग नभएको उनले यसको सही तथ्यांक निकाल्न समेत निर्देशन दिए । ‘हामीसँग १२ जिल्लामा लालपुर्जासहितको जग्गा छ । जसमा कहाँ के भइरहेको छ । यसको तथ्यांक हुनुपर्छ’, उनले भने, ‘सक्दो छिटो साउन महिनाभरिमा हामीले स्काउटको जग्गा कहाँ कसरी प्रयोग भइरहेको छ । त्यो थाहा पाउन सके त्यसको व्यवस्थापनमा हामी जानेछौँ ।’
हाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेको दीपक खड्काले स्काउटको जग्गा आफ्नो स्वामित्वमा लिएर भाडा लगाउँदै आएका छन् । खड्काले काठमाडौं महानगरपालिका वडा नम्बर २६, लैनचौरस्थित स्काउटको जग्गा एवं सम्पत्ति विगत छ वर्षदेखि कब्जा गरेका छन् । खड्काको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ले २०६५ सालमा भाडामा लिने सम्झौता गरेको थियो । तीन रोपनी जग्गा न्यून भाडादरमा सम्झौता गरी खड्काले सम्झौता सकिएपछि जग्गा खाली गरेका छैनन् । यस्तै, उनले सम्झौता अवधिलाई किर्ते गर्दै लम्बाएका छन् । उनले किर्ते गरेर सम्झौता अवधि लम्बाएपछि स्काउटका अधिकारीहरू अदालत पुगेका थिए ।
२०७९ असारमा उच्च अदालतले स्काउटको पक्षमा फैसला गरेपछि पनि जग्गा स्काउटले भोगचलन गर्न पाएको छैन । उच्चको फैसलापछि पनि खड्काले स्काउटको जग्गा कब्जा गरिराखेका छन् । यता खड्काले भने सम्झौता अवधि हुँदाहुँदै जग्गा कब्जा गरेको आरोप लगाइएको बताउँदै आएका छन् । सोही जग्गाको विवाद समाधान गरी स्काउटको जग्गा सदुपयोगका लागि प्रदेश तथा स्थानीय तहसँग पहल गरी तालिम केन्द्र तथा स्काउट अफिसको स्थापनाका लागि पहल गर्ने खेलकुदमन्त्रीले बताएका छन् ।