काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिकरूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो ।
नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान)ले आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १७औँ वार्षिक साधारणसभामा पेस गर्नका लागि तयार गरेको वित्तीय विवरणमा सेयरधनी तथा सरोकारवालाहरूलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।
काठमाडौंको द एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट दक्षिण एसियालीस्तरमा आयोजना हुने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।
कामना सेवा विकास बैंक अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ ९००१ः२०१५ प्राप्त नेपालको पहिलो विकास बैंक समेत हो । हाल बैंकले देशैभरका आफ्ना शाखा सञ्जालहरूमार्फत् आफ्ना ग्राहक महानुभावहरूलाई अत्याधुनिक सेवा सुविधा प्रदान गर्दैै आएको छ ।