काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट लगातार पाँचौँ पटक पुरस्कृत भएको छ । आईक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणालीअन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० का लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको हो । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८, २०७८/७९ र २०७९/८० गरी लगातार पाँचौँ पटक पुरस्कृत भएको हो ।
आईक्यानले बेस्ट प्रिजेन्टेड एनुअल रिर्पोट अवार्ड २०२३ विभिन्न पाँच विधामा प्रस्तुत गरेको थियो । विधाहरूमा १. निजी बैंकिङ क्षेत्र २. वित्तीय सेवा क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू) ३. उत्पादन क्षेत्र ४. शक्ति र ऊर्जा क्षेत्र ५. सेवा क्षेत्र रहेका छन् । विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरूमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ । गत शनिबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । उक्त समारोहका प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युम्न पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका हुन् । साथै, बैंकले नेपालमै टिक्न, सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ ।