बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी चार खर्ब ३६ अर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी चार खर्ब ३६ अर्ब ४० करोड ७० लाख रुपैयाँ पुगेको हो ।बैंकिङ क्षेत्रमा कायम रहेको यो चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ३८ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९÷८०को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी चार खर्ब २५ अर्ब दुई करोड ७० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८०÷८१को जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब दुई करोड रुपैयाँ कायम छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ अर्ब १६ करोड ३० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तमा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ थियो ।
विकास बैंकहरुको चुक्ता पुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन २०८० जेठ मसान्तको तुलनामा एक एक अर्ब ९८ करोड ९० लाख रुपैयाँले बढी हो । २०८० जेठमा विकास बैंकहरुको कुल चुक्ता पुँजी ४० अर्ब १८ करोड २० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा फाइनान्स कम्पनीहरुले कुल चुक्ता पुँजी १८ अर्ब १३ करोड २० लाख रुपैयाँ कायम गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब १४ करोड ५० लाख रुपैयाँले बढी हो । २०८० जेठ मसान्तमा फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी १४ अर्ब ९८ करोड ७० लाख रुपैयाँ थियो ।
बासेल–३ कार्यान्वयनमा ल्याउने क्रममा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि बैंकिङ क्षेत्रको चुक्ता पुँजी बढेको हो । केन्द्रीय बैंकको प्रावधानअनुसार वाणिज्य बैंकहरुले न्यूनतम आठ अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुले न्यूनतम दुई अर्ब ५० करोड र फाइनान्स कम्पनीहरुले न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्छ ।
बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजीसँगै शाखा सञ्चाल पनि बढेको छ । २०८१ जेठ मसान्तसम्म लघुवित्तबाहेकका बैंक तथा वित्तीय संस्थाको कुल शाखासंख्या छ हजार चार सय ५२ पुगेको छ । जसमध्ये वणिज्य बैंकहरुको पाँच हजार ३०, विकास बैंकहरुको एक हजार एक सय ३४ र फाइनान्स कम्पनीहरुको दुई सय ८८ वटा शाखाहरु सञ्चालनमा छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल शाखासंख्या छ हजार चार सय ३२ वटा रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुको पाँच हजार १५, विकास बैंकहरुको एक हजार एक सय ३० र फाइनान्स कम्पनीहरुको दुई सय ८७ वटा शाखा सञ्चालनमा थिए । अहिले सातवटा प्रदेशका ७७ जिल्लाका सात सय ५३ स्थानीय तहमध्ये बझाङको साइपाल गाउँपालिकाबाहेक सबै क्षेत्रमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेको छ । शाखा नपुगेको उक्त क्षेत्रमा पनि शाखा सञ्चालनमा ल्याउनको लागि केही वाणिज्य बैंकहरुले तयारी गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।