पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०८१/८१ मा मा छ करोड ८७ लाख १३ हजार छ रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाही गर्दा जरिवानाबापत संकलन भएको हो ।
कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८१ मा कुल ८४ हजार पाँच सय २३ सवारी कारबाहीमा परेका छन् । प्रहरीले दुईपाङ्ग्रे सवारीको रूप परिवर्तन गरेर ध्वनि प्रदूषण गर्ने सवारीमाथि कारबाही गर्ने अभियान नै चलाएको थियो । ध्वनि प्रदूषण गर्ने गरी मोडिफाइड एक हजार नौ सय ८६ मोटरसाइकल कारबाहीमा परेका थिए । सोबापत मात्रै २८ लाख १० हजार तीन सय रुपैयाँ जरिवाना संकलन भएको खड्काले जानकारी दिए । यस्तै, पाँच वर्षसम्म नवीकरण फेल भएका ११ वटा सवारी र मिटरमा जान नमान्ने पाँच सय ७८ भाडाका ट्याक्सी पनि कारबाहीको भागिदार भएको उनले बताए ।
साथै, अत्यधिक मात्रामा कालो धुँवा फाल्ने छ वटा, राइड सेयरिङ इनड्राइभ, पठाओ, टुटलजस्ता मोबाइल एप प्रयोग गरी अनाधिकृतरूपमा यात्रु ओसारपसार गर्ने २२ वटा दुईपाङ्ग्रे र चार चारपाङ्ग्रे सवारीलाई ट्राफिकले कारबाही गरेको छ ।