काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनका लागि एनआईएमबी एस क्यापिटल बिक्री तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण सेयरहरू प्राथमिक सार्वजनिक निष्काशनमार्फत धितोपत्र निष्काशन गर्नका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानी खोलाको पानी प्रयोग गरी ३० मेगावाट क्षमताको खानीखोला (दोलखा) जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विद्युत् ऐन, २०४९ बमोजिम विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।
धितोपत्र निष्काशनसम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्रकुमार कार्की तथा र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेद्वारा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा साशा इन्जिनियरिङ हाइड्रोपावरका कम्पनीसचिव दिलिप कुमार चौधरी तथा एनआईएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको थियो ।