नयाँदिल्ली । भारत सरकारले चार सय ८० खर्ब भारतीय रुपैयाँबराबरको बजेट सार्वजनिक भएकोे छ । यसमध्ये एक सय ११ खर्ब भारतीय रुपैयाँ पुँजीगत खर्च छ ।
अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्मा बजेट सार्वजनिक गरेकी हुन् । नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बनेपछिको यो पहिलो बजेट हो भने अर्थमन्त्री सीतारमणले सातौँ पटक बजेट सार्वजनिक गरेकी छिन् ।
गत फेब्रुअरीमा सार्वजनिक गरिएको अन्तरिम बजेटको तुलनामा बजेटको आकार त्यति धेरै बढाइएको छैन । फेब्रुअरीमा चार सय ७६ खर्ब ५७ अर्ब ६८ करोड भारतीय रुपैयाँबराबरको अन्तरिम बजेट सार्वजनिक गरिएको थियो ।
भारत सरकारले सबैभन्दा धेरै बजेट रक्षातर्फ ४५ खर्ब ४७ अर्ब ७३ करोड भारतीय रुपैयाँ छुट्याएको छ । त्यसपछि ग्रामीण विकासमा २६ खर्ब ५८ अर्ब आठ करोड रुपैयाँ र तेस्रोमा कृषितर्फ १५ खर्ब १८ अर्ब ५१ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।
राजस्व बजेटको सबैभन्दा ठूलो हिस्सा सेनाको तलब वितरणमा खर्च हुने भएकोे छ । राजस्व बजेट दुई लाख ८२ हजार करोड भारतीय रुपैयाँ बजेट छुट्याएको छ । जुन कुल रक्षा बजेटको ४५ प्रतिशत हो । सन २०२३मा राजस्व बजेट दुई दशमलव सात लाख करोड रुपैयाँ र खर्च दुई दशमलव ९८ लाख करोड रुपैयाँ थियो ।