जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २० वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमाथि कानुनी कारबाही गरी १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख किशोर बर्तौलाकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा कानुनी कारबाही गरेर जरिवानाबाट उक्त रकम संकलन गरिएको हो ।
लामो समयदेखि कर अर्थात राजस्व नबुझाउने एक सय ७८ व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने सूचना जारी गरेपछि त्यसमध्येका २० व्यावसायिक प्रतिष्ठानले जरिवाना रकम बुझाएका हुन् । कार्यालयबाट प्राप्त विवरणअनुसार कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छन् । जसमध्ये गत आर्थिक वर्षमा १५ हजार करदाताले वार्षिक आयव्यय अर्थात् राजस्व बुझाएका छन् । अहिलेसम्म २२ हजार व्यावसायिक पान नम्बर लिएका करदाताले राजस्व नतिरेको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ । साथै, अघिल्लो आव २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आवमा तीन अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
कार्यालयलाई गत आर्थिक वर्ष चार अर्ब ४६ करोड ६३ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए । गत आवमा कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरवापत एक अर्ब ४५ करोड ४७ लाख रुपैयाँ, घर भाडावापत छ करोड ३५ लाख ६६ हजार रुपैयाँ, ब्याजकरवापत ११ करोड ११ लाख २२ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत एक अर्ब ३० करोड १५ लाख ५५ हजार रुपैयाँ, अन्तःशुल्कवापत एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार रुपैयाँ, स्वास्थ्यकरवापत ११ लाख तीन हजार रुपैयाँ तथा शिक्षाकरवापत ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो ।