काठमाडौ, नेपाल राष्ट्र बैंकले ४६ करोड रूपैया संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको नाममा सूचना जारी गर्दै उक्त परिमाणमा रकम लगानीको लागि प्रस्ताव आव्हान गरेको हो । संस्थागत निक्षेपको रूपमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा गरिने यस्तो लगानी उपदान तथा पेन्सन कोषअन्तर्गतको हो । यसरी लगानी गरिने रकमको लागि बैंक तथा वित्तीय संस्थाले यही साउन १३ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज तोकेर आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले यो निक्षेप तीन सय ६६ दिन अर्थात् विसं २०८१ साउन १७ गतेदेखि २०८२ साउन १७ गतेसम्म राख्न लागेको हो । लगानीको लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरूको लागि ३६ करोड ८० लाख, विकास बैंकहरूको लागि छ करोड ९० लाख र फाइनान्स कम्पनीहरूको लागि दुई करोड ३० लाख रूपैयाँ छुट्याइएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरू तोकिएका छन् । यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुुनुुपर्ने प्रावधानहरू तोकिएका छन् ।