काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको निर्देशक प्रा. डा. मीना थापाले बताएकी छिन् ।
“ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उनले भनिन, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।”
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा यही साउन ९ गते सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।