घोराही । दाङमा सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गर्दा सो ट्रकमा आफैँ आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले आइतवार बिहान लमही नगरपालिका–९ चाउखोलानजिक जङ्गल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको जानकारी दिए । उपरीक्षक केसीले भने, ‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’
प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका –२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् । ट्रकमा चालकसहित तीन जना सवार थिए ।
प्रहरीका अनुसार खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लिन आइरहेको थियो । आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।