सुलीकोट । उत्तरी गोरखाको धार्चे गाउँपालिका– ५ सिङला स्थित रेसेगाउँमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् । रेसेगाउँमा कृषि फार्म र नजिकै रहेको घरमा एकै घरका ३ जना सहित पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले धार्चे गाउँपालिका– ५ रेसेगाउँमा बस्ने ३७ वर्षीय जीतबहादुर गुरुङ, जीतबहादुर गुरुङको श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, जीतबहादुर गुरुङको बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ र सोहि ठाउँ बस्ने कामदार ३३ वर्षीय रमेश गुरुङ, बतन नखुलेका सोही फार्ममा ट्याक्टर चालकको रूपमा काम गर्ने २४ वर्षीय रमेश परियार पहिरोले एक घर र गोठ बगाउँदा बेपत्ता भएको जानकारी दिए ।
सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र फार्ममा कामदारको रूपमा काम गर्दै आएका खमबहादुर गुरुङ पहिरोमा पुरिदा उनीहरुलाई सामान्य चोटपटक लागेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी चौकी माछी खोलाबाट गएको प्रहरी टोली र लाप्राकबाट गएको प्रहरी टोलीले उद्धार कार्य गरिरहेको जानकारी दिएको छ ।