काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२४’ को लागि यही सोमबार अडिसन हुने भएको छ । प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जनामध्ये ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाडौंमा छनोट हुने आयोजकले जनाएको छ ।
अडिसनको जज प्यानलमा गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् । त्यस्तै, आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका म्यानेजिङ डिरेक्टर आलोक छेत्री, सीईओ एवम प्रेसिडेन्ट सबी पुरी र मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जजको रूपमा अडिसन लिने भएका छन् । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने भर्चुअल माध्यमदेखि सहभागिता जनाउनेछन् । यो अडिसनमा छनोट हुने ३५ प्रतिस्पर्धीले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिङ, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवनोपयोगी सिपहरू सिकाइने आयोजकले जनाएको छ ।
मिस युनिभर्स नेपाल २०२४ मा ट्रान्सजेन्डर, विवाहित, गैरनेपाली महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलटलगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जानकारी दिइन् । ‘मिस युनिभर्स नेपाल २०२४’ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्बरमा हुने मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा एक सय देशहरूसँग प्रतिस्पर्धा गर्नेछिन् ।