काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले निर्माण व्यवसायीहरूको समस्याबारे आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री यादवले महासंघले उठाएका भुक्तानीलगायतका मागहरू जायज रहेको बताए ।
निर्माण उद्योगको समग्र विकासका लागि महासंघले दिएको सुझावहरू राज्यका लागि नै लाभदायक भएको उनको भनाइ थियो । वर्तमान सरकारबाट नेपाली जनताले ठूलो अपेक्षा राखेको भन्दै मन्त्री यादवले यो सरकारलाई कुनै पनि हालतमा असफल हुने छुट नरहेको बताए । महासंघ अध्यक्ष रवि सिंहले व्यवसायीहरूले पाउन बाँकी रहेको भुक्तानी, ठेक्का तोडिँदा व्यवसायीमाथि हुने अन्यायलगायतका विषयमा मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष सिंहले सबै किसिमका खानेपानी आयोजनाको निर्माण गर्न स्वदेशी व्यवसायी नै सक्षम भएकाले विदेशी निर्माण व्यवसायी आवश्यक नभएको जानकारी मन्त्री यादवलाई गराए । यस्तै, शुक्रबार सार्वजनिक भएको मौद्रिक नीति निर्माण व्यवसायीमैत्री भएका अध्यक्ष सिंहले बताएका छन् । अब कार्यविधि पनि सोहीअनुरूप आउनुपर्ने उनले बताए ।