काठमाडौं, गोर्खाको धार्ते गाउँपालिका ५ रेसेफाँटमा पहिरोमा परि घाइते भएकाहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागि कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौंको शिक्षण अस्पतालमा लगिएको प्रहरीले बताएको छ । पहिरोमा परि सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङ घाइते भएका थिए । उनीहरुमध्ये दिलिपको अवस्था गम्भीर रहेको बताइएको छ । पहिरोमा परि बेपत्ता भएकाहरुको भने खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा परी एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता छन् । बेपत्ता हुनेमा जीतबहादुर गुरुङ, उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ बर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोले जीतबहादुरको कृषि फर्म र एक घर पनि बगाएको छ ।