काठमाडौं । नेपाल राष्ट्र बैंकलो शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको मौद्रिक नीतिको सकारात्मक प्रवाह शेयर बजारमा देखिएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउनको लागि भन्दै शेयर धितो संगै अन्य क्षेत्रतर्फको कर्जा तथा अन्य व्यवस्थाहरुलाई सहज बनाउँदा यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो । जसको फलस्वरुप कारोबार खुलेको पहिलो एक मिनेटमा नैं एक सय एक सय दुई दशमलव ६८ अंकले बढेर पहिलो सर्किट लागेको नेप्से त्यसपछि खुलेको कारोबारमा पनि उच्च अंंकले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि रोकिएको थियो । त्यसपछि पनि लगातर उकालो लागेको बजार परिसुचक नेप्से अन्तिम समयसम्म आईपुग्दा एक सय १३ दशमलव ४२ अंकले उकालो लागेर २६ सय ८१ दशमलव ५६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २६ दशमलव ७८ अंकले उकालो लागेर चार सय ८६ दशमलव ८४ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख ६३ हजार आठ सय १० पटक शेयर किनबेच भएको छ । जसबाट चार करोड तीन लाख १४ हजार पाँच सय १७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार दुई सय ३५ रुपैंयाँ पुग्न सफल भएको छ ।
धितो बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त उपसमुहको सुचक सामान्य अंकले ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् ।