गुल्मी । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–५, बरडाँडास्थित लाखुरी रुख पशुपन्छी पालन समूहमार्फत गुल्मीमा कृषकको आम्दानी वृद्धि ल्याउनका लागि बाख्रा पालन कार्यक्रम सुरु गरिएको छ। कृषकको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका कार्यालय प्रमुख हुमकान्त पाण्डेयले गत आर्थिक वर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट बाख्रा पालन कार्यक्रम सञ्चालनमा ल्याइएको बताए।
बाख्रा पालन कार्यक्रममा नस्ल सुधार, पोषण आहार, क्षमता विकास र पशु स्वास्थ्य उपचार लगायतको कामका लागि शतप्रतिशत अनुदान सहयोग गरिएको उनले बताए। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भौतिक पूर्वाधार र मेसिनरी औजार खरिदमा ७५ प्रतिशत अनुदान सहयोग गरेको छ।
समूह मार्फत औषधि खरिद तथा बाख्रापालन सम्बन्धी कृषकहरूलाई एक दिने तालिम उपलब्ध गराइनुका साथै २४ वटा नयाँ बाख्राको खोर निर्माण, दुई वटा प्रजननको लागि उन्नत बोका खरिद, छ वटा कम्बाइन मिल खरिद तथा ढुवानी, घाँसको बिउ तथा चार हजार सेट बेर्ना समेत खरिद गरिएको छ।
समूह मार्फत वार्षिक करिब १०० खसीबोका बिक्री गरी कृषकको आम्दानी बढाउने लक्ष्य राखिएको छ भने यस समूहमा हाल ३६० वटा बाख्रा रहेका छन्। बाख्रा पालन कार्यक्रमबाट बरडाँडाका ४० घरपरिवार लाभान्वित भएका छन्।