दोलखा । जिल्लामा एक युवकले वृद्धभत्ताको रकम लुट्न ७५ वर्षीया महिलाको हत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर–४ नर्मी घर भएका २३ वर्षीय विक्रम कार्कीले सोही गाउँपालिका वडा नम्बर ६ लापिलाङकी पदमकुमारी सुनुवारको खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी युवराज खड्काका अनुसार कार्कीले सुनुवारको साउन ९ गते हत्या गरी फरार भएका थिए । फरार रहेका कार्कीलाई प्रहरीले साउन ११ गते नै पक्राउ गरेको थियो । पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । दोलखाका प्रहरी प्रमुख खड्काका अनुसार कार्कीले रकम लुट्नकै लागि वृद्धाको खुकुरी हानी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । कार्की साउन ९ गते राति मृतक वृद्धाकै घरमा बास बसेका थिए । सोही राति कार्कीले खुकुरी प्रहार गरी सुनुवारको हत्या गरेर आत्महत्या गरेजस्तो देखिनेगरी शवको व्यवस्थापन गरेर भागेको डीएसपी खड्का बताए । हत्यापछि फरार रहेका कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार कार्की वैदेशिक रोजगारीको लागि दुबईमा जान परीक्षा दिई काठमाडौंबाट घर फर्कने क्रममा सुनुवारको घरमा बास बसेका थिए । वृद्धा सुनुवारले कार्कीलाई भान्साकोठामा ओछ्यान लगाई आफू अर्कै कोठामा गएर सुतेकी थिइन् । कार्कीले राति आफू सुतेको कोठामा रहेको खुकुरी लिई सुनुवार सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।