मुग्लिन (चितवन) । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त चुम्बक बिहीबार बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको जानकारी दिए । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उनले बताए ।
वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
बसमा सवार ६५ जनामध्ये ६२ जना बेपत्ता भएका थिए भने तीनजना हामफालेर बाँच्न सफल भएका थिए । हालसम्म भेटिएको २४ जनाको शव मध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ जनाको शवको पहिचान खुल्न सकेको छैन । ३८ जना यात्रु र बस अझै भेटिएका छैनन् ।
हराइरहेको बस खोज्न चितवन आएका भारतीय टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए । जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन् ।