कास्की । कास्कीको पोखरामा सोमबार पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१९ नम्बरको विद्यालयको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । विद्यार्थी बोकेको स्कुल बस पोखरा–२१ गुड्कुस्थित भित्री सडकमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सो घटनामा पोखरा–२१ बस्ने उक्त विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको जानकारी दिए । दुवैजनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा घाइते भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा चालकमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जनाएको छ ।