पोखरा ,गण्डकी प्रदेश भ्रमणमा आउने पर्यटक बढीमा १२ दिन बस्ने गरेको पाइएको छ । साथै ती पर्यटकले एक दिनमा बढीमा आठ हजार तीन सय ५५ रुपैयाँ २८ पैसा अर्थात ६२दशमलव८० अमेरिकी डलर खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयअन्तर्गतको अनुसन्धान इकाइले गरेको अध्ययनमा यस्तो तथ्यांक पाइएको हो । तथ्यांकअनुसार पर्यटकले गण्डकीका ११ जिल्लामध्ये मनाङमा सबैभन्दा बढी समय बिताउने गरेका छन् ।अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्ष विभिन्न ४१ देशबाट गण्डकी प्रदेशमा पर्यटक आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक छन् ।
गण्डकी आउने विदेशी पर्यटकमा ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् ३३ प्रतिशत छन् भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका एक दशमलव पाँच प्रतिशत छन् ।यस्तै, सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने गरेका छन् । साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने पर्यटक ४९दशमलव१८ प्रतिशत रहेका छन् भने व्यापारिक प्रयोजनका लागि आउने पर्यटक दुई दशमलव ९८ प्रतिशत छन् ।गत वर्ष गण्डकीमा पहिलो पटक आउने पर्यटक ६८ प्रतिशत रहँदा ३२ प्रतिशत भने एक पटकभन्दा बढी आइसकेको वर्गमा परेका छन् ।
यस्तै, एकल भ्रमण गर्ने पर्यटक ३४दशमलव७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने २८दशमलव७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने २२दशमलव५० प्रतिशत र समूहमा भ्रमण गर्ने १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यमा वर्षेनी लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
अन्नपूर्ण क्षेत्रमा दुई लाख २२ हजार पर्यटक
गत आर्थिक वर्षमा मात्रै अन्नपूर्ण क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या दुई लाख २२ हजार एक सय ८० रहेको छ । यी सबै विदेशी पर्यटक हुन् । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।एक्याप प्रमुख डा रविन कडरियाका अनुसार आव ०७९÷०८० को तुलनामा ५० हजार बढी पर्यटक गत आवमा आएका हुन् । उनका अनुसार आव ०७९÷०८० मा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी एक लाख ७२ हजार पाँच सय १० पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए ।