काठमाडौँ, असार १०
मुक्तिनाथ विकास बैंकले ऋणीको ऋण मिनाहा गरेको छ । बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएका विष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याजबराबरको रकबम मिनाहा र फिर्ता गरेको जानकारी दिएको छ ।
बैंकले निजले लिएको बिना धितो कर्जाको भुक्तान गर्न बाँकी रकम २२ हजार चार सय ९० रूपैयाँ ऋण मिनाह गरेको हो । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज दुुई लाख तीन हजार चार सय ८३ रूपैयाँ र काजकिरिया खर्चबापतको रकम पाँच हजार रूपैयाँ समेत गरी दुुई लाख आठ हजार चार सय ८३ रूपैयाँ बैंकको पार्वतीपुर शाखाका शाखाप्रमुख सन्तोष तिवारी र साना तथा लघु बैंकिङ डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान बाबुराम दर्जीको रोहोबरमा संयुक्तरूपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।
बैंकले समुहमा आबद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाहा गरी भुक्तानी गरिसकेको साँवा ब्याज फिर्ता गर्नुको साथै काजकिरिया खर्च समेत उपलब्ध गराउँदै आइरहेको छ । बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड ७६ लाख २३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३७ करोड ५४ लाख ३७ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुुई अर्ब ७१ करोड ६३ लाख रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २४ अर्ब ४१ करोड ७८ लाख ८६ हजार रूपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८२ लाख ६७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९० करोड १४ लाख एक हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले २१ अर्ब ४९ करोड ६४ लाख रूपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १४ करोड ४४ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७८ करोड ७८ लाख ५५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।