काठमाडौँ, असार १०
सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्टबीच सम्झौता भएको छ । बैंकका अनुसार एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको हो ।
‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म यूकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेसनलले तयार पारेको हो । सम्झौताअनुसार, सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ ।
‘क्वीक भुक्तानी’ यस्तो अनलाइन प्लेटफार्र्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ताहरू, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।
अधिकांश कारोबार उधारोमा हुने नेपालको व्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सार्वाधिक र लाभदायक हुने विश्वास सिद्धार्थ बैंक तथा एफवान सफ्टद्वारा लिइएको छ । ‘क्वीक भुक्तानी’ले व्यवसायहरू बीच नगद प्रवाह सुधार गर्न मदत गर्दछ, जुन कोभिड–१९ महामारीको कारणले अर्थव्यवस्था सुस्ताएको वर्तमान अवस्थामा ज्यादै नै महत्वपूर्ण हुुने जानकारी बैंकले दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३३ करोड ९९ लाख ८३ हजार तीन सय ३० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५९ करोड २९ लाख २७ हजार ७८ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३० अर्ब ३४ करोड ५८ लाख ५५ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक खर्ब २४ अर्ब ३८ करोड ८१ लाख १२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब १८ करोड ५५ लाख ४७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा दुई दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक खर्ब १४ अर्ब ९२ करोड ३३ लाख ६७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ८७ करोड ६२ लाख ९९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ४० करोड ८४ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।