जिल्ला सहकारी संघ काठमाडौंको लेटर हेड र छाप ‘मानव तस्करी’मा प्रयोग भएको पाइएको छ ।लेटर हेड र छाप प्रयोग गरेर २१ जनाको तस्करी भएको पाइएको हो । सन् २०२४ जुलाई १३ मा गैरआवासीय नेपाली संघ जापान र जिल्ला सहकारी संघ काठमाडौंको आयोजनामा गरिएको उक्त कार्यक्रमको नाममा मानव तस्करी भएको हो । उक्त कार्यक्रममा जानका लागि भन्दै विभिन्न २१ वटा सहकारीका व्यक्ति लगिएको थियो। सहकारीको कार्यक्रमका नाममा नेपालीलाई जापान लैजाने काममा मुख्य भूमिका समिर लामा तामाङको रहेको प्रहरीको भनाइ छ । उनी जापानको ओसाकामा बस्दै आएका थिए । मानव तस्करी प्रकरणमा लामालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोमबार मध्याह्न ३ बजे नेपाल एयरलाइन्सको फ्लाइटमार्फत जापानबाट नेपाल आएका लामालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।जिल्ला सहकारी संघको लेटरहेड र छाप दुरुपयोग भएको भन्दै संघले मंगलबार दिउँसो तीन बजेका लागि सञ्चालकको बैठक बोलाएको छ ।जापानको कार्यक्रममा जान भनेर कोही कसैलाई पनि संघले सिफारिस नगरेको एक पदाधिकारीले उल्लेख गरेका छन् । लेटरहेड र छाप दुरुपयोग भएको कुरामा थप अनुसन्धान र कारबाहीका लागि प्रहरीमा आफू जाने उल्लेख गरेका छन् ।‘मानव तस्करी’ मा जिल्ला सहकारी संघ काठमाडौंको कुनै पनि संलग्नता नरहेको र त्यहाँ उल्लेख भएका कसैलाई पनि आफूले नचिन्ने बताएका छन् ।