काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद् भवन समयमा नै पूरा गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा निर्माणाधीन संसद् भवनको मंगलबार निरीक्षण गरेपछि उनले नौ महिनाभित्र निर्माण पूरा गर्न निर्देशन दिएका हुन् ।
भवन निर्माणको कामको गति सुस्त भएको भन्दै उनले असन्तुष्टि समेत जनाएका थिए । ‘सिफ्ट बढाएर भए पनि तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्नुप¥यो । केही अप्ठ्यारा छन् भने मन्त्रालय सहजीकरण गर्न तयार छ । समयमा सबै काम सकियोस्’, उनले भने, ‘आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी तत्परताका साथ काम गर्नुहोस् ।’ तोकिएको समयावधिमा काम सम्पन्न नहुने गुनासो सुनिएपछि निरीक्षणका लागि आएको उनले बताएका थिए ।
मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए । ‘प्रतिदिन सात सय जनाले काम गर्नुपर्नेमा एकदेखि डेढ सयले काम गरेपछि अब त्यसलाई पूर्ति गर्न कामदार बढाउनुको विकल्प छैन’, उनले भने, ‘ठेकेदारसँग भवन निर्माण समयमै सम्पन्न गर्न छलफल गरिरहेका छौँ ।’ सिंहदरबार परिसरमा सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भवन निर्माण भइरहेको छ ।
नयाँ संसद् भवनको निर्माणको लागि तत्कालीन प्रधानमन्त्री केपी शर्माले २०७६ साल असोज १६ गते शिलान्यास गरेका थिए । २०८० वैशाख १४ गते सम्पन्न गर्नेगरी छ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले लिएको थियो । कोभिडको कारण तोकिएको समयमा भवन निर्माण गर्न नसकिएको भन्दै भवन निर्माणको लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको समय अब नौ महिना मात्रै बाँकी रहेको छ । सहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले भनेअनुसार काम गरिरहेको छैन । उपप्रधानमन्त्री सिंह अनुगमनमा जाँदा ठेकेदार कम्पनीका प्रतिनिधिहरू भने थिएनन् ।
यसअघि सभामुख देवराज घिमिरे प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारी र मन्त्रीहरूले पनि निर्माणाधीन संसद् भवन अवलोकन गर्दै काममा तीव्रता दिन निर्देशन दिएका थिए । ठेकदार कम्पनीले भने ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको दाबी गर्ने गरेको छ ।