काठमाडौं । एमसीए नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान र सरकारको लगानीमा निर्माण हुने परियोजनाअन्तर्गत तीनवटै सबस्टेसन निर्माणको ठेक्का सम्झौता गरेको छ ।
तनहुँ जिल्लाको दमौलीमा चार सय केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नोइलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडसँग ठेक्का सम्झौता गरेसँगै तीनवटै सबस्टेसन निर्माणको ठेक्का सम्झौता सम्पन्न भएको हो । एमसीए–नेपालले नयाँ दमौली सबस्टेसन निर्माणका लागि तीन दशमलव ८८ करोड अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको छ । सो सम्झौतामा बुधबार एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले हस्ताक्षर गरेका थिए । यसअघि नुवाकोटको रातमाटे सबस्टेसन निर्माणको लागि पनि एमसीए–नेपालले सोही कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
एमसीए नेपालका अनुसार यी दुवै सबस्टेसनको निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्येको बन्नेछ । नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने जनाइएको छ । ठेक्का सम्झौता कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने बताए ।
यस्तै, उनले आयोजना समयमै सम्पन्न गर्नका लागि आग्रह गरे । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरेले नेपालको फैलिँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेसन महत्वपूर्ण हुने बताए । यसले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पु¥याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट साझा सफलताको कथाको महत्वपूर्ण अङ्ग बन्ने बताए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण भएको बताए ।
एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । हाल १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको जनाइएको छ । एमसीए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी दुई सय ९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको एमसीए–नेपालले जनाएको छ । एमसीए–नेपालले सडक मर्मत आयोजनातर्फ फुल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।