काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगञ्ज, पर्सास्थित सूर्य हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटल प्रालिमा १० प्रतिशतसम्मको छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम काउन्टर, तीन वटा विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।