काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बुधबार आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर दाखिल खारेज, नामसारी, अभौतिकीकरण, लाभांश वितरणलगायत सेयर रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्यहरू नेपाल एसबीआई मर्चेन्ट बैंकिङबाट हुनेछ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड २०६९ भदौ ३१ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्यअनुरूप विभिन्न जलविद्युत्, पर्यटन, होटल, बीमा, सञ्चारलगायतका परियोजनाहरूमा लगानीसम्बन्धी काम÷कारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक सेयरधनीहरू विद्युत्, बैंक÷वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार÷व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरू रहेका छन् ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।