काठमाडौँ । देशको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पूर्वसचिवहरूसँग छलफल गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे उर्जामन्त्री खड्काले मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गरेका हुन् ।
मन्त्री खड्काले छलफलका क्रममा पूर्वसचिवको अनुभवलाई समेटेर भावी कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । मन्त्री खड्काले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि अप्ठ्यारा ऐन, नियम, कार्यविधि र नियमावलीलाई संशोधन गरेर अगाडि बढ्ने बताए ।
जलाशययुक्त आयोजनामा लगानी जुटाउन सके छोटो समयमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्ने उल्लेख गर्दै उक्त मन्त्रालयका पूर्वसचिव दिनेश घिमिरेले आन्तरिक खपत बढाउने गरी ऊर्जा क्षेत्रको विकास गर्नुपर्ने बताए । पूर्वसचिव अनुप उपाध्यायले ऊर्जा क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण निर्माण गर्नुपर्ने बताए । उनले जति चाँडो आयोजना निर्माण गर्नसक्यो त्यति नै मुलुकका लागि फाइदा हुने बताए ।
सरकारले सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने पूर्वसचिव सुशीलचन्द्र तिवारीले बताए । सातवटा राष्ट्रिय गौरवका आयोजना भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त आयोजनालाई चाँडोभन्दा चाँडो पूरा गर्न लाग्नुपर्ने बताए । जलस्रोत संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राख्नुपर्ने पूर्वसचिव सागरकुमार राईले बताए । उनले खर्बौँ लगानी गरेर सिँचाइ आयोजना बनाए पनि सिँचाइवापतको सेवा शुल्क नउठाउँदा उक्त आयोजना मर्मतसम्भारमा समस्या हुने गरेको बताए ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जासचिव गोपालप्रसाद सिग्देल, जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयअन्तर्गतका विभिन्न विभागका महानिर्देशक तथा मन्त्रालयका सहसचिवहरूको सहभागिता थियो ।